स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न बराहपोखरीमा आधारभूत पत्रकारिता तालिम

Minakshi Rai

खोटाङ, ६ असार । स्थानीयस्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ बराहपोखरी गाउँपालिकाले पाँचदिने आधारभूत पत्रकारिता तालिम उपलब्ध गराएको छ । गाउँकार्यपालिकाद्धारा स्वीकृत ‘उत्पादनमा उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाभित्रका स्थानीयलाई सहभागी गराएर पत्रकारिता तालिम उपलब्ध गराएको हो ।

गाउँपालिकाको कार्यालय धर्तुङमा आयोजना गरिएको पत्रकारिता तालिममा सहभागीलाई सञ्चारमाध्यम, पत्रकार, समाचार, समाचारका तत्व, समाचार सङ्कलन, लेखन तथा सम्पादन, पत्रकार आचार संहिता लगायतका विषयमा जानकारी दिइएको छ । तालिममा सहभागी प्रशिक्षर्थीलाई नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई र प्रदेश परिषद् सदस्य केदार मगरले नेपाली पत्रकारिताको सैद्धान्तिक तथा व्यवहारिक विषयमा जानकारी दिन सहजीकरण गर्नुभएको थियो ।

सहभागी प्रशिक्षार्थीलाई फोटो पत्रकारिता, मोबाइल पत्रकारिता र अडियो÷भिडियो सम्पादन सम्बन्धी पत्रकार महासङ्घ खोटाङका सन्तोश पौडेल र मदानी खबरका सञ्चालक सीताराम राई ‘सञ्जिव’ले सहजीकरण गर्नुभएको थियो । यही असार–२ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको पत्रकारिता तालिममा गाउँपालिकाभित्रका विभिन्न वडाका १३ जना स्थानीयले आवेदन भरेर सहभागिता जनाएका थिए ।

पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले सूचना तथा सञ्चारको माध्यमबाट समाज परिर्वतनमा आमसञ्चार संस्था तथा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीसँग आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न गाउँपालिका तयार रहेको अध्यक्ष बन्जाराले जानकारी दिनुभएको छ ।

स्थानीयस्तरमा पत्रकार उत्पादन गर्न आयोजना गरिएको आधारभूत पत्रकारिता तालिममा सहभागीलाई अर्को वर्ष एडभान्स (उच्चस्तरको) तालिम उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष भुबलराज राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिका दुर्गम क्षेत्रमा पर्छ । यहाँका विषय खासै समाचार बनेर बाहिर आउँदैन”, उहाँले भन्नुभयो, “पत्रकार समाजका ऐना हुन् । यहाँ भएका राम्रा तथा नराम्रा विषयलाई बाहिर ल्याएर जनताको सूसुचित हुन पाउने अधिकार सुनिश्चित गर्न पत्रकार उत्पादन गर्न लागिएको हो ।”

गाउँपालिकाले उपलब्ध गराएको पाँचदिने आधारभूत पत्रकारितासँगै मोबाइल पत्रकारिता तालिम प्रभावकारी भएको सहभागीमध्येबाट धारणा राख्नुभएकी सँगीता बन्जाराले बताउनुभएको छ । पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई गाउँपालिका अध्यक्ष बन्जारा, उपाध्यक्ष राई र प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया