खोटाङ, ४ असार । बैङ्किङ कसुर गरेको आरोपमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थलीमा दर्ता भएको किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले आरोपित सरोजलाई बिहीबार पक्राउ गरेको हो ।
बैङ्किङ कसुरमा मुद्दा दर्ता भएपछि फरार बनेका सरोजलाई लुकिछिपी बसेको अवस्थामा डिकुवास्थित दाम्लीबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको सरोजलाई कानूनी प्रक्रिया पुरा गरेर थप कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।
बैङ्किङ कसुर गरेको आरोपमा पक्राउ परेका सरोजसहित तीन जनाले वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको रु ७२ लाख ३७ हजार ३३५ ठगी गरेको किटानी जाहेरीमा उल्लेख छ । सरोजसहितका व्यक्तिले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा सञ्चालित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको रकम सङ्गठित रुपमा ठगी गरेको आरोप छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरको अख्तियारीमा सरोजसहित तीन व्यक्ति विरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएकोमा सरोज बाहेक अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन तिम्सिनाले जानकारी दिनुभएको छ ।
सरोजसहित अन्य दुई व्यक्तिले सोही संस्थामा कार्यरत रहेको अवस्थामा रकम ठगी गरेको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुले वित्तीय संस्थाको ऋण तिर्न बाँकी केन्द्र नं. ५ र १७ का ४३ जना व्यक्तिको नाममा लगानी प्रवाह गरेको किर्ते कागजात बनाएर बचतकर्ताको रकम ठगी गरेको आरोप लागेको छ ।


