विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पन्ध्र दिने रामनवमी मेला

Halesi Khabar

खोटाङ, १३ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।

हलेसीमा लागेको रामनवमी मेला भर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु हलेसी आएका छन् । रामनवमी मेला भर्न हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउनाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रामनवमी मेला भर्न हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक तथा प्रहरी परिचालन गरिएको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभएको छ । “रामनवमीमा पञ्चेबाजासहित गहना लगेर महादेव पहि¥याउने गरिन्छ । महादेव पहि¥याउने समयमा निक्कै भीडभाड हुन्छ”, उहाँले भन्नुभयो, “रामनवमीकै दिन सबैन्दा बढी दर्शनार्थी तथा भक्तजन आउने भएकाले सहजरुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्सेवक र प्रहरी परिचालन गरिएको छ । अहिले हलेसी गुफाभित्र प्रवेश गरेर हजारौँ दर्शनार्थी तथा भक्तजनले पूजाआरधना गरिरहेका छन् ।”

राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् । हलेसीमा लाग्ने १५ दिने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् निमित्त प्रमुख जिल्ला अधिकारी कोपिला थुलुङले जानकारी दिनुभएको छ ।

धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू अवस्थित रहेका छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।

त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो ।

दैनिक सैयौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिर परिसरमा सौर्यबत्तीसमेत जडान गरिएको छ । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको रु दश लाख बजेमा ‘उज्यालो हलेसी कार्यक्रम’ अन्तरगत हलेसी मन्दिर परिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

रामनवमीको अवसर पारेर जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरु (बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ) लगायत ठाउँहरुमा समेत ठूलो मेला लाग्ने गरेको छ । त्रिधार्मिकस्थल हलेसी बाहेक अन्य ठाउँमा एक दिनमात्र मेला लाग्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलहरुमा घुम्न तथा वनभोज (पिकनिक) खान जाने आन्तरिक पर्यटकको सङ्ख्यासमेत उत्तिकैमात्रामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया