श्रीमानको कुटाइबाट गम्भीर घाइते श्रीमतीको उपचारमा लानेक्रममा मृत्यु

Halesi Khabar

खोटाङ, २३ असोज । श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचारमा लानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लानेक्रममा शुक्रबार दिउसो बाटैमा मृत्यु भएको हो ।

आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी आफ्नो ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढल्नुभएको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस हुनुभएकी ज्ञानकुमारीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिनुभयो ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उहाँको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ । घटनाको बारेमा टोली परिचालन गरेर अनुशन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी टोली परिचालन गरिएको प्रनाउ चिमरियाले बताउनुभयो ।

श्रीमान÷श्रीमतीबीच शुक्रबार नै बिहान करीब पाँच बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नुका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन् ।

घरायसी झगडामा आमाको मृत्यु हुनुका साथै बुबा फरार भएपछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ । उनीहरुको तीन छोरी र दुई छोरा रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया