खोटाङ, १७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्याकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्याकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जस्तापाता, किराना पसलका सामान, ग्याँस लगायत घरायसी सामान लिएर हिँडेको ट्याकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीन जनामध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । छ जना सवार ट्याक्टरको अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताउनुभएको छ ।
दुर्घटनामापरि गम्भीर घाइते हुनेमा टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उहाँको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ ।
हिलाम्मे सडकमा ट्रलीले थिचिएको अवस्थाबाट निकालिएको मृतक राईको शव परीक्षण गर्न शनिबार बिहान जिल्ला अस्पताल खोटाङ ल्याइएको जनाइएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षादको पानीले खाल्डाखुल्डी हुनुका साथै क्षमताभन्दा बढी सामान हुँदा ट्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
दुर्घटनापछि ट्याक्टर चालक साकेला गाउँपालिका–४ मात्तिमका २१ निशान राई र सहचालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २० वर्षीय विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर दुर्घटना भएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभएको छ ।


