दश वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण, विदेशबाट फर्किएकाको लगत सङ्कलन शुरु

Halesi Khabar

खोटाङ,  जिल्लाका दश वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जिल्लामा पनि फैलन सक्ने सम्भावित खतरालाई लक्षित गरेर जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरेको हो ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित माटिकोरेमा सञ्चालित ‘खोटाङ बहुउद्देश्यी कभर्डहलमा ३६ शैयाको क्वारेन्टाइन र नगरपालिकाकै सहकार्यमा जिल्ला अस्पताल दिक्तेलमा तीन शैयाको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) निर्माण गरेर तयारी अवस्थामा राखेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले वडा नम्बर–७ हलेसीस्थित स्थानीय जाम्बला होटल एण्ड रिसोर्टमा ११ शैया, स्वास्थ्य चौकी दुर्छिममा चार र स्वास्थ्य चौकी हलेसीमै पाँच शैयाको क्वारेन्टाइन निर्माण गरेको जनाइएको छ ।
खोटेहाङ गाउँपालिकाले आफ्नो नौँ वटै वडामा पाँच÷पाँच शैयाको क्वारेन्टाइन निर्माण गरेको जनाइएको छ । साकेला गाउँपालिकाले मात्तिमस्थित बालबालिका माविमा दश तथा साकेला मावि रतन्छामा दश शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्वास्थ्य चौकी याम्खामा ४० शैया तथा जन्तेढुङ्गा गाउँपालिकाले चिसापानी माविमा २० शैयाको क्वारेन्टाइन निर्माण गरेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले बाक्सिला बजारस्थित पृथ्वी माविमा दश शैयाको क्वारेन्टाइन निर्माण गरेको जनाइएको छ ।
रावाबेँसी गाउँपालिकाको प्रत्येक वडामा पाँच÷पाँच वटा क्वारेन्टाइन निर्माण गरेर तयारी अवस्थामा राखिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाले स्थानीय बालकन्या मावि धर्तुङमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरिरहेको गाउँपालिका उपप्रमुख गोमा मगरले जानकारी दिनुभएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाले त्रिभुवन मावि ऐसेलुखर्कमा दश र प्रत्येक वडामा पाँच÷पाँच वटा क्वारेन्टाइन निर्माण गरेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । “महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यो संकटको घडीमा सबैले आ–आफ्नो क्षेत्रबाट सतर्कता अपनाउन जरुरी रहेको छ ।”
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्ला अस्पताल दिक्तेल बाहेक अन्य स्थानमा आईसोलेसन वार्ड भने बनाइएको छैन । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोकथामका लागि जिल्लाका २० स्थानमा हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन हरेक स्थानीय तहले विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याएको जनाइएको छ । कतिपय स्थानीय तहले आवश्यकताका आधारमा अहिले पनि हेल्प डेस्क स्थापना गरिरहेको छ ।
कोरोना भाइरसको सम्भावित खतरालाई लक्षित गरेर पूर्व तयारी थालिएको जिल्लामा पछिल्लो समय गलत सङ्कलनको काम पनि तीव्रगतिमा अगाडि बढाइएको छ । हरेक स्थानीय तहले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेर विदेशबाट फर्किएका व्यक्तिको पहिचान र पहिचान भएका व्यक्तिलाई अनिवार्य रुपमा आफ्नो पायक पर्ने ठाउँमा रहेको क्वारेन्टाइनमा बस्ना आग्रह गरिरहेको छ ।
कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जनाको पहिचानपछि क्वारेन्टाइनमा राखिएको जनाइएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका केपिलासगढी गाउँपालिका घर भएका राई थरका युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेका राई थरकै अर्का युवालाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत नेपाल फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको छ । युवतीसँगै नेपाल आउने मध्येमा दुई जना खोटाङका भएपनि अहिलेसम्म उनीहरुमा कुनै समस्या देखिएको छैन ।

तपाईको प्रतिक्रिया