भिम राई/
रावावेसी (खोटाङ) २२ पुस । देशकै ठुला जलविद्युत् आयोजना भित्र पर्ने दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना देशकै राष्ट्रिय गौरवको आयोजना हुने उर्जा मन्त्री बर्षमान पुनले घोषणा गरेका छन् । खोटाङ, सोलु र ओखलढुँगाको विचमा पर्ने दुधकोशीमा संचालन हुन गईरहेको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निरक्षण भ्रमणमा खोटाङको रम्बुवा बजारमा आईपुगेका उर्जामन्त्री पुनले सो कुरा बताएका हुन् ।
खोटाङ, सोलु र ओखलढुँगाका आम समुदायको विचमा बोल्दै मन्त्रि पुनले नेपाल सरकारले ६ सय ३५ मेगावाट क्षमताको यो आयोजनालाई आउने आर्थिक वर्षबाट नै राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडि बढाउने बताएका छन् । यस क्षेत्रको जनताको उत्साह र तत्परताको कारण नै यो आयोजना सफल हुने बताउँदै मन्त्रि पुनले आयोजना संचालन गर्दा स्थानीयलाई पुग्ने प्रत्यक्ष अप्रत्यक्ष असरका बारेमा सरकार सचेत रहेको बताएका छन् । उनले भने, ‘प्रत्यक्ष प्रभावित स्थानीय व्यक्तिहरुलाई सरकारले मुआब्जाको व्यवस्था गर्ने छ । साथै उनीहरुलाई रोजगारीताको अवसरमापनि पहिलो प्राथामिकतामा राखिने छ ।’
आयोजना संचालन गर्न निकै ठुलो धनराशी खर्च हुने भएपनि सरकारले वैदेशिक रिण सहयोग, सरकार र वित्तिय संस्थाको लगानीमा क्रमागत रुपमा आयोजना सम्पन्न गरिने सरकारको नीति रहेको पुनको भनाई रहेको थियो । उनले भने, ‘यसमा स्थानीय जनताको समेत सहभागिता रहने छ ।’ उनले हाल आयोजना संचालनार्थ बनेको सरोकार समितिलाई सहयोग समितिका रुपमा विकास गर्न आग्रह गर्दै स्थानीय समुदायको सहयोग विना योजना सफल हुन गाह्रो हुने बताए ।
विद्युत विस्तारको क्षेत्रमा नेपालमा पछिल्लो चरणमा धेरै सकरात्मक काम भएको जानकारी दिँदै पुनले हाल देशका ८८ प्रतिशत घरमा बिजुलीको पहुँच पुगिसकेको र बाँकी १२ प्रतिशत घरहरुमा आगामी दुईवर्ष भित्र देशका सबै घरपरिवारमा बिजुली बलिसक्ने बताए । उनले मध्यम वर्गिय नेपाली परिवारले ग्याँस चुल्हा बाल्नुको सट्टा बिद्युत चुल्हा प्रयोग गरेर सस्तोमा जीवन चलाउन आग्रह समेत गरेका छन् । उनले भने, ‘सिलिण्डरको ग्याँसमा भन्दा विद्युतको चुल्हा प्योग गर्दा प्रतिपरिवार ३०० देखि ४०० रुपैया सम्म फाईदा हुन्छ ।’

यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङले दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना नेपालकै महत्वुपुर्ण आयोजना भएको बताएका छन् । जापान सरकारको सहयोगी संस्था जाईकाले सन १९८५ मा नै यो योजनाको प्राथामिकि करण गर्दा नेपालका ६ वटा योजना भित्रको एकका रुपमा लिएको उनले जानकार िदिए । नेपाल चलिरहेको हालका आयोजनाहरु मध्ये दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना सबै भन्दा छिटो, सस्तो र कम क्षतीमा सम्पन्न गर्न सक्ने आयोजना रहेको उनको भनाई रहेको थियो ।
उनले यस आयोुजनाले १६२ घरधुरीलाई मात्र प्रत्यक्ष असर पुग्ने अध्ययनले देखाएको बताउँदै यो नेपालकै सबै कम घरधुरी रहेको बताए । उनले ९ सय ८८ घरलाई आंशिक असर पर्न जाने बताउँदै असर पुगेका सबै किसिमका क्षतिहरुलाई सरकारले स्वामित्व ग्रहण गर्ने बताएका छन् । सरकारले दूईवर्ष अगाडि जारी गरेको स्वेतपत्र अनुसारनै काम अगाडि बढिरहेको बताउँदै अब तत्काल काम शुरुहुने समेत जानकारी दिएका छन् ।
कार्यक्रममा खोटाङ जिल्लाका संघीय संसदका सदस्य विशाल भट्टराई र हिरा गुरुङ, सोलु जिल्लाका संघीय संसद सदस्य हेमकुमार राई (शुरवीर), ओखलढुँगा जिल्लाका संघीय संसद सदस्य यज्ञराज सुनुवार, सोलु जिल्लाबाट प्रदेश सभा सदस्य बुद्धिकुमार श्रेष्ठ, खोटाङ जिल्लाबाट प्रदेश सभा सदस्य उषाकला राईले आफ्ना विचार राखेका थिए ।
दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व रावावेशी गाउँपालिका खोटाङका अध्यक्ष लिलानाथ निरौलाले गरेका थिए । कार्यक्रममा खोटाङ जिल्लाबाट प्रदेश सभा सदस्य रामकुमार राई पासाङ, जलविद्युत आयोजना प्रमुख वसन्त श्रेष्ठ लगायत विभिन्न सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।


