हलेसी खबर/
खोटाङ २१ पुस । सुन्दरढोका साथी सेवा ललितपुरको आयोजनामा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा प्यासेन्ट न्याभिगेशन परियोजना परिचायात्मक तथा समन्वय बैठक सम्पन्न भएकोछ । जिल्ला समन्वय समिति खोटाङका उपाध्याक्ष गोमा देवि खत्रिको प्रमुख आथित्यतामा सम्पन्न परिचायत्मक कार्यक्रममा खोटाङ जिल्लामा भित्रिन लागेको सुन्दरढोका साथी सेवाको परिचय तथा यस सँस्थाले गर्ने कामको बारेमा छलफल भएको छ ।
कार्यक्रममा सुन्दरढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले सुन्दरढोका साथी सेवाले ललितपुर जिल्लामा दर्ताभई अपाङता भएका विरामीहरु विशेष कार्यक्रम सञ्चालन गरिरहेको सँस्था पहिलो पटक राजधानी भन्दा बाहिर निस्कन लागेको जानकारी दिए । अधिकारीका आफ्नै बुवा र आमा कोष विलास अधिकारी र गोमा अधिकारीको परिकल्पनामा शुरु गरिएको सँस्थाले नेपालका ७१ जिल्लाको अपाङ बालबालिकाहरुलाई सेवा सुविधा उपलब्ध गराईसकेको जानकारी दिए ।
स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका अपाङगता भएको विशेष गरि १८ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई स्वास्थ्य सँस्थाको पहुँच सम्म पु¥याउन मद्यत गर्दै आएको बताउँदै कार्यकारी निर्देशक अधिकारीले खोटाङ जिल्लामा पहिलो पटक परिचयात्मक कार्यक्रमको आयोजनागर्न लागिएको बताए । उनले खोटाङगे जनताको आवश्यकता र मागको आधारमा यो कार्यक्रम उपयुक्त हुन सक्ने बताउँदै यसकालागि आवश्यक सहयोगहरुको अपेक्षा गरिएको बताएका थिए ।
उनले अपाङगता भएको व्यक्तिलाई खासगरी उपचार गराउने कुरामा सहजीकरण गर्न र उपचार पाईसकेपछि समाज पुनःस्थापित गराउन सँस्थाले काम गर्दै आएको जनाएका छन् । उपचार भईसकेपछि अपाङता भएको व्यक्तिको आत्मसम्मान बढाउन आय आर्जनको काममा विशेष ध्यान पु¥याउनु पर्ने भन्दै पुनःस्थापना अर्को चुनौति रहेका जनाएका छन् ।
कार्यक्रममा विशेष अतिथि रहेका प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्ययले यस्ता सँस्थाहरु आउन स्वागत योग्य कुरा रहेको भन्दै प्रशासनिक हिसावले गर्नुपर्ने हरेका सहयोग गर्न तयार रहेको बताए । यस्तै दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका उप प्रमुख विणादेवि राईले यो विशेष किसिमको सेवा खोटाङ जिल्लाको लागि एकदमै उपयोगी हुने भन्दै नगरको तर्फबाट गर्नु पर्ने सहयोगका बारेमा चिन्ता नगर्न आग्रह गरेकी छन् । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख तिर्थ आचार्यले खोटाङ जिल्लाको आवश्यकतालाई हेरेर आफुले नै सुन्दरढोका साथी सेवासँग जिल्लामा काम गर्न आग्रह गरेको बताउँदै अब जिल्लामा सबै खालको सहयोगको वातावरण निर्माण गर्न पहल गर्नुपर्ने जानकारी दिए । विभिन्न संघसंस्थाका प्रतिनिधी, स्वास्थ्य सँस्थाका प्रतिनिधी तथा पत्रकारहरुको सहभागिता कार्यक्रम भएको थियो ।


