हलेसी खबर
खोटाङ, पुस २० । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्षमाथि भीमबहादुर खत्रीमाथी हातपात भएको छ । गाउँका काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न बिवाद मिलाउन छलफल गराउनेक्रममा आईतबार वडाध्यक्ष खत्रीलाई कार्यकक्षमै हातपात गरिएको हो ।
स्थानीय साईनोले काका श्याम मुग्राती र भतिज अर्जुन मुग्रातीबीच लेनदेनको विषयमा बिवाद भएको र बिवाद मिलाउनका लागि छलफल गराउनेक्रममा अर्जुनले वडाध्यक्ष खत्रीमाथि मुक्का हानेको बताइएको छ । छलफल गराउनेक्रममा मादक पदार्थले मातेर आएका अर्जुनले हातपात गरेको वडाध्यक्ष खत्रीले बताए ।
लेनदेनमा हिसाव नमिलेपछि हिजो अर्जुनले श्यामको काठ काट्ने मेसिन लगिदिएको रहेछ । श्याम वडामा आएर गुनासो पोख्दै थियो,’ वडाध्यक्ष खत्रीले भने, ‘त्यही बेला अर्जुन आए । काठ काट्ने मेसिन लैजानुको सट्टा वडामा उजुरी दिएको भए हुन्थ्यो भनेर सम्झाउन खोज्दा आक्रमण गरे ।’ वडाध्यक्षले सम्झाउन खोज्दा लात्ती मुड्कीले टेबल हान्न थालेपछि बाहिर ठेल्दा सहायक कर्मचारीलाई समेत छातीमा मुक्का लागेको छ ।
वडाध्यक्षलाई नाकमा मुक्का हान्ने ३० वर्षीय अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइदैगरेको प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । मापसे गरेर अमर्यदित क्रियाकलाप देखाएकामा अर्जुनलाई वटा कार्यालयले पटक–पटक रक्सी नखाने कागज गराएको थियो ।


