हलेसी खबर सम्वाददाता
खोटाङ, १७ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र रहेका शिक्षकहरुले एम्बुलेन्स दुर्घटनामापरि गम्भीर घाइते भएका सरस्वती उमाविका कर्मचारी युवराज आचार्यलाई आर्थिक सहयोग गरेका छन् । नगरपालिका भित्र रहेका ९३ वटा विद्यालयका शिक्षक, बालविकास केन्द्रका शिक्षक, तथा विद्यालयमा कार्ययत कर्मचारीहरुको तर्फबाट ४ लाख ५१ हजार ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा सम्पुर्ण शिक्षक, कर्मचारीहरुले आफुले खाईपाई आएको तलबमध्येबाट एक दिन तलब कटाएर जम्मा गरेको हस्तान्तरण गरिएको छ । सम्पुर्ण शिक्षकहरुको एकदिन तलब काटेर जम्मा गरेको रकमको चेक नगरपालिकाका प्रमुख दिपनारायाण रिजालले सरस्वती उच्च माध्यामिक विद्यालयका प्राचार्य ध्यानबहादुर राईलाई प्रदान गरेका छन् । उक्त चेक प्राचार्य राईले युवराज आचार्य बचाउ अभियानको खातामा जम्मा गर्ने निर्णय भएको छ ।
युवाराज आचार्य बचाउ अभियान संचालन भएपछि नगरपालिका भित्रका ९३ वटा विद्यालयका ४ सय ८७ जना शिक्षकहरुको तलबबाट कट्टा गरेर रकम जम्मा गरिएको हो । सहयोगका लागि मावि तहको शिक्षकको एकदिन बराबरको रु १२ सय, निमावि तहको रु ९ सय ४० र प्रावि तहको एकदिनको जम्मा ८ सय ८७ रुपैयाका दरले तलब काटिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव मिन कुमार दाहालले जानकारी दिएका छन् ।
दाहालका अनुसार ६४ जना बालविकास केन्द्रका शिक्षक र एकसय १६ जना विद्यालयका कर्मचारीहरुको समेत एकदिनको तलब काटिएको छ । बालविकास केन्द्रका शिक्षकको रु २००, विद्यालयका कर्मचारी माविको लेखा कर्मचारीको ३ सय ८३ रुपैया मावि परिचरको दुई सय ५० रुपैयाँ, निमावि स्तरको कर्मचारी एक सय ५० रुपैया र प्रावि स्तरका विद्यालयको कर्मचारीहरुबाट एकसय ३३ रुपैयाका दरले तलबमा काटिएको छ ।
काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत सउमाविका कर्मचारी ३८ वर्षीय युवराज आचार्य अहिलेसम्म पनि बेहोस अवस्थामै रहेका छन् । उनी गत असोज–२ गते सप्तरीको कञ्चनपुरस्थित बेरियरमा भएको एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका हुन् । आचार्यको हाल क्रमिक सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पताल खोटाङले अन्यत्र रेफर गरेको बिरामी आफन्तलाई उपचारका लागि बिराटनगर लैजानेक्रममा रोकी राखेको ट्रिपरलाई ठक्कर दिएर एम्बुलेन्स दुर्घटना हुँदा आचार्य आफै गम्भीर घाइते भएका हुन् ।
टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते भएका आचार्यको उपचारमा आर्थिक अभाव भएपछि नगरपालिकाको संयोजनमा स्थानीय युवानेता गोपाल आचार्यको संयोजकत्वमा घाईते युवराज आचार्य बचाउ अभियान शुरुवात गरिएको छ । तत्कालीन समयमा स्थानीय युवा नेता गोपालचन्द्र आचार्य र पत्रकार हरिबोल आचार्यको पहलमा छिमेकीहरुबाट आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको थियो ।
यस अभियानमा अन्र्तगत गाउँकै आफन्त, छरछिमेक तथा दाजुभाइबाट संकलन भएको २ लाख ७२ हजार १० रुपैयाँ रकम असोज–१६ गते आचार्यको घरमै पुगेर आमा चन्द्रकला र श्रीमती जानुका आचार्यलाई हस्तान्तरण गरिएको थियो । आफ्नो पूर्व विद्यार्थी आचार्य दुर्घटनामा परेपछि घाइते आचार्यको सफलताको कामना गर्दै गत असोज–१० गते पञ्च मावि दिक्तेलका शिक्षक तथा कर्मचारीले एक लाख २५ रुपैया रकम सहयोग संकलन गरेर आफन्तलाई हस्तान्तरण गरेका थिए ।
आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख रिजालले राज्यबाट आफूले पाएको तलबभत्ता बापतको ३९ हजार रुपैयाँ र उपप्रमुख राईले दश हजार रुपैयाँ रकम प्रदान गरेका छन् । साथै नगर उपप्रमुख राईले जिल्लाकै विभिन्न व्यक्तिबाट गरेको ४७ हजार रुपैया रकम समेत काठमाडौँको उपचार स्थलमै पुगेर प्रदान गरेका छन् ।
निम्न आर्थिक अवस्थाका आचार्यको जीवनरक्षाका लागि स्वऐच्छिक रुपमा रकम संकलन गरिदै आएको भएपनि हालसम्म १८ लाख रुपैयाँ बढी खर्च भईसकेको घाईतेका दाजु झमप्रसाद आचार्यले जानकारी दिए ।


