हलेसी खबर सम्वाददाता
खोटाङ । खोटाङ जिल्लाको सदरमुकाममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरेको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन नगरपालिकाले दिक्तेल वजारको प्रबेशद्धार किरात चोक रत्नपार्कमा दिक्तेल बजार प्रबेशद्धारको उद्घाटन गरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गरेको छ । नगर प्रमुख दिपनारायण रिजाल र उप प्रमुख विणादेवी राईले सयुक्त रुपमा किरात चोक रत्नपार्क लेखिएको डिजिटल ब्यानरको डिस्प्ले अन गरेर भ्रमण वर्षको समुद्घाटन गरेका हुन् ।
सरकारले सन २००९ सालमा निर्माण गरेको पर्यटन गुरुयोजना अनुसार सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । नेपाल भ्रमण बर्ष २०२० लाई अत्याधिक पर्यटन भित्रयाउने वर्षका रुपमा सफल बनाउन सरकारले घोषणा गरेको छ । यसै अभियानलाई सफल बनाउन कार्यक्रम गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताएका छन् ।
कार्यक्रममा नगरपालिका भित्र रहेका ऐतिहांसिक धार्मिक तथा पर्यटकिय स्थलहरु समावेस भएको व्यानर लाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नगर प्रमुख रिजालले सवारी साधनहरुमा राखेका थिए । दिक्तेल वजार प्रवेशद्धार केहि वर्ष अगाडि सडक विभागको केही लगानी र नगरपालिकाको करिव ५ लाख रुपैयाँ लगानीमा प्रवेसद्धार निर्माण भएको नगरपालिकाका ईन्जिनियर नविन यादवले जानकारी दिए ।
आन्तरिक तथा वाह्य पर्यटक दिक्तेल घुम्न आउने पर्यटकहरुको जिरो प्वाईन्ट ओर्लिएर दिक्तेल वजार कता हो भन्ने पर्यटकलाई सजिलो हुने गरी प्रवेसद्धार निर्माण गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सरकारी, गैर सरकारी कार्यालयका प्रमुखहरु सहित आम नागरिकको बृहत उपस्थितिमा कार्यक्रम भएको हो ।


