प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

Halesi Khabar

हलेसी खबर सम्वाददाता
बाराहा पोखरी । खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अनियमित भएको भन्दै छानविन गरिएको प्रतिबेदन तत्काल सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । बराहपोखरी गाउँपालिकामा वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता अनियमित भएको भन्दै बनेको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कार्यबाही गर्न कांग्रेसको गाउँपालिका समितिले माग गरेको हो ।
बाराहा गाउँपालिकाको चार वडामा भत्ता वितरणमा अनियमितता भएको भन्दै पालिकाले उपाध्याक्ष गोमादेवी मगरको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिले अन्तिम प्रतिबेदन बुझाई सकेको भएपनि गाउँपालिकाले हालसम्म सो प्रतिबेदन सार्वजनिक नगरेको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्य समितिका सभापति खिलाराज राई (दिपक)ले गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरालाई लिखित निबेदन पेश गर्दै सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा आएको छानबीन प्रतिबेदनको सत्यतथ्य सार्वजनिक गर्न र दोषी ठहरिए कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तीको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि गाउँपालिकाका उपाध्यक्ष गोमादेबी मगरको संयोजकत्वमा गठित छानबीन समितिले मंसिर १७ गते अन्तिम प्रतिबेदन बुझाएको थियो ।

श्रोतका अनुशार छानबीन समितिले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, बराहपोखरी गाउँपालिका–२ सुन्तले, बराहपोखरी गाउँपालिका–३ साउनेचौंर र बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिबेदन पेश गरेको छ ।

तपाईको प्रतिक्रिया