राष्ट्रिय युवा संघले पायो पूर्णता

Halesi Khabar

खोटाङ, पुस ६ । खोटाङमा नेकपा निकट राष्ट्रिय युवा संघले पूर्णता पाएको छ । राष्ट्रिय युवा संघका जिल्ला संयोजक रसकुमार राईको अध्यक्षतामा आईतबार सम्पन्न भेलाले साविकको युवा संघका ३२ जना र साविकको वाइसिएल नेपालबाट २९ सदस्यलाई समेटेर राष्ट्रिय युवा संघको एकता प्रकृयालाई पूर्णता दिएको हो ।

राष्ट्रिय युवा संघको कात्तिक ३० गते र मंसिर १ गते सम्पन्न बैठक र एकता भेलाले साविकको युवा संघलाई संयोजक र साविकको वाइसिएललाई सहसंयोजक दिने सहमती भए अनुशार जिल्लामा ६१ सदस्यीय राष्ट्रिय युवा संघ गठन गरिएको छ ।  बैठकले साविकको युवा संघबाट ४ जना र साविकको वाइसिएलबाट ३ जना रहने ७ सदस्यीय कार्यालय कमिटि बनाउने निर्णय गरेको छ ।

खोटाङका दश स्थानीय तहमध्ये ६ स्थानीय तहमा साविकको युवा संघ र ४ स्थानीय तहमा साविकको वाइसिएलले राष्ट्रिय युवा संघको नेतृत्व सम्हाल्ने सहमती भएको सोमबार जारी प्रेस विज्ञाप्तीमा उल्लेख छ । जिल्लाका ६ स्थानीय तहमा साविकको वाइसिएलले इन्चार्ज र ४ स्थानीय तहमा साविकको युवा संघले इन्चार्जको भूमीका सम्हाल्ने निर्णय भएको राष्ट्रिय युवा संघका जिल्ला संयोजक राईले बताए ।

जिल्लाको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र केपीलासगढी गाउँपालिकामा साविकको युवा संघलाई राष्ट्रिय युवा संघको संयोजक दिइएको छ । यस्तै, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा साविकको वाइसिएललाई राष्ट्रिय युवा संघको संयोजकको भूमीका दिइएको छ ।

बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र केपीलासगढी गाउँपालिकामा साविकको वाइसिएलले राष्ट्रिय युवा संघको इन्चार्ज तथा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा साविकको युवा संघले इन्चार्जको भूमीका सम्हाल्ने टुंगो लागेको जनाइएको छ ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिलचक्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खोटाङ इन्चार्ज राजुबिक्रम चाम्लिङ, केन्द्रीय सदस्य रमेश तिवारी, दिनेश राई, विनोद राई, राष्ट्रिय युवा संघका नेता मिलनचन्द्र राई, जिल्ला सहसंयोजक शरद राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया