पर्यटकीयस्थल इन्द्रेणीपोखरीको मुहार फेरिँदै

Halesi Khabar

हलेसी खबर सम्वाददाता
खोटाङ, ६ पुस ः खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । परापूर्व कालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने कथन रहेको उक्त पोखरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न स्तरोन्नति थालिएको हो ।

समुन्द्री सतहदेखि करीब एक हजार ७०० मीटर उचाईमा रहेको उक्त पोखरी स्तरोन्नतिका लागि केन्द्रीय बजेट अन्तरगत समपुरक कोषबाट गाउँपालिकासँगको साझेदारीमा रु एक करोड दश लाख ३१ हजार ४४० रकम स्वीकृत भएको छ । गाउँ कार्यपालिकाको गौरवको आयोजना अन्तरगत पर्ने इन्द्रेणीपोखरीलाई पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकास गर्ने योजनाका साथ कामलाई तीव्रता दिइएको हो ।

निर्माण उपभोक्ता समितिमार्फ काम भइरहेको उक्त पोखरी आसपास बाल उद्यान, विभिन्न प्रजातिका फूल रोपिएको बगैँचा, पानीको फोहोरा सहितको पोखरी निर्माण लगायतका काम शुरु गरिएको वडाध्यक्ष देवेन्द्र राईले बताउनुभयो । “पोखरीको नाममा रहेको करीब २१ रोपनी जग्गामा ४८ मीटर लम्बाई र २६ मीटर चौडाईको कृतिम पोखरी निर्माणाधीन छ”, उहाँले भन्नुभयो, “पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन कृतिम रुपमा फलामको पाता प्रयोग गरेर निर्माण गरिएको इन्द्रेणी राखिएको छ ।”

प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको इन्द्रेणीपोखरीलाई थप सुन्दर र मनमोहक बनाउँदै पर्यटक भित्र्याउन गाउँपालिकाले थालेको पहलप्रति स्थानीयवासी हर्षित बनेको स्थानीय इन्द्र नारथुङ्गेले बताउनुभयो । “इन्द्रेणीपोखरीसँगै वरपरको प्राकृतिक संचनालाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सरोकारवाला सबैको कर्तव्य र दायित्व हो”, उहाँले भन्नुभयो, “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ ।”

आर्थिक वर्ष २०७४÷०७५ मा वडा कार्यालयले विनियोजन गरेको रु २० लाखले स्तरोन्नतिको काम शुरु गरिएको उक्त पोखरीमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५÷०७६ मा रु २० लाख तथा वडा र गाउँपालिकाबाट साँढे १२ लाखगरि रु साँढे ५२ लाख बढी खर्च भइसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । प्रवेशद्धार, घेराबार, पोखरी निर्माण तथा स्टीलट्रष्ट समेत जडान गरिसकिएको निर्माणाधीन पोखरीको काम सम्पन्न कति बजेट लाग्ने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।

स्तरोन्नतिको काम भइरहेको इन्द्रेणीपोखरी नजिकै अनगिन्ती पर्यटकीयस्थल रहेकाले तिनीहरुको पनि क्रमशः प्रवद्र्धनको काम गरिने गाउँपालिका उपप्रमुख कविता राईले जानकारी दिनुभयो । “इन्द्रेणीपोखरीबाट दक्षिणमा धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङ लगायत पर्यटकीयस्थल पर्दछ”, उहाँले भन्नुभयो, “इन्द्रेणीपोखरीलाई उक्त पर्यटकीयस्थलहरुसँग जोड्न सडक मार्गहरु खोल्ने काम भइरहेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने इन्द्रेणीपोखरीबाट सर्वोच्च शिखर सगरमाथा लगायत हिमश्रृङ्खला तथा तराईका फाँटहरुको दृष्य अवलोकन गर्न सकिन्छ । जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्नेठाउँ) इन्द्रेणीपोखरीमा हरेक नयाँ वर्ष (वैशाख–१ गते)का दिन मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना पिकनिक (वनभोज) खाने र दृष्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । सगरमाथा राष्ट्रि राजमार्गको दिक्तेल–हलेसी सडक खण्डको रसुवाघाटबाट खोलिएको शाखा सडक हुँदै इन्द्रेणीपोखरी पुगिन्छ ।

लेकाली जनावर तथा चराचुरुङ्गी समेत देख्न पाइने इन्द्रेणीपोखरीमा सञ्चार सेवाको समेत राम्रो सुविधा रहेको छ । ठूला चउर र घाँसे मैदान रहेको इन्द्रेणीपोखरी सोही पोखरीको नामबाट राखिएको जानकारहरु बताउँछन् ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा जिल्लाका हरेक स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो ।

नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजना समेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दश दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’ लगायतका कार्यक्रम तय गरिएको छ । तस्वीर उपलब्ध छ ।

तपाईको प्रतिक्रिया