हलेसीको प्रवद्र्धनमा सहयोग गर्न पर्यटनमन्त्री भट्टराईको ध्यानाकार्षण

Halesi Khabar

हलेसी खबर सम्वाददाता

खोटाङ, ५ पुस / प्रदेशसभा सदस्य राजन राईले खोटाङको त्रिधार्मिकस्थल हलेसीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको ध्यानाकार्षण गराउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गरेको सन्दर्भमा खोटाङ निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य राईले खुलापत्र लेख्दै हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुभएको हो ।

हलेसीमा अहिले गरेको लगानीले भोलिका दिनमा हलेसीले देशकै लागि लगानी दिन सक्ने सम्भावना रहेको सदस्य राईले लेख्नुभएको खुलापत्रमा उल्लेख गर्नुभएको छ । केही वर्षअघि भएको निर्वाचनमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक गन्तव्य बनाउने भनेर गरेको वचनलाई अहिले पूरा गर्न मन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको छ । “हिजो साझा घोषणापत्र बनाएर चुनाव लडेका थियौँ जसमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने वचन जनतालाई दिएका थियौँ”, खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानी घर भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका राईले लेख्नुभएको खुलापत्रमा भनिएको छ, “हलेसी बाहेक जनकपुरधाम, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथको विकास तुलनात्मक रुपमा उन्नत छ । पार्टीको घोषणापत्रका आधारमा हामीले जनतासँग मत मागेका छौँ । विकासको प्रतिबद्धता जाहेर गरेका छौँ । जनतासँग हामीले गरेका प्रतिबद्धताको मान राखिदिन हार्दिक अनुरोध छ ।”

नेपालको आर्थिक उन्नतिको आधार पर्यटन, जलस्रोत र कृषि मानिएको अवस्थामा हलेसी क्षेत्रमा पर्यटन, जलस्रोत र कृषि मात्र नभएर असाधारण परिमाणमा प्राकृतिक खानीको समेत सम्भावना रहेकाले हलेसीलाई देशकै आर्थिक केन्द्रका रुपमा विकास गर्न सकिने राईले दावी गर्नुभएको छ । हिन्दु देवता महादेव र भस्मासुरबीचको द्धन्द्धको रोचक किंवदन्ती रहेको, बौद्धधर्मलाई चिन तथा तिब्बतमा प्रचार–प्रसार गरेका तपस्वी पद्यसम्भवले बुद्धत्व प्राप्त गरेको, नजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ–जायजुम रहेको आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ ।

रावाबेँसी गाउँपालिकामा निर्माण भइरहेको राष्ट्रकै गौरवको आयोजना ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस हलेसी नजिकै बनिरहेकोको र सो विद्युत भारत, चीन र बंगलादेशलाई बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको, हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा औषधिय गुण भएको दलहन ‘गहत’ फल्ने भएकाले व्यवसायीक रुपमा ‘गहत’को खेती लगाएर स्थानीय नागरिकको मात्र नभएर मुलुककै अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना रहेकोतर्फ मन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको छ । धार्मिक सहिष्णुताको तपोभूमी भएपनि हलेसीमा प्राकृतिक रुपमा निर्मित असाधारण भौतिक संरचना भूगर्भअध्येताका लागि अध्ययनको केन्द्र समेत हुनसक्ने सदस्य राईले औँल्याउनुभएको छ ।

शुरुमा १ नम्बर प्रदेश सरकारको मातहत रहेको त्रिधार्मिकस्थल हलेसीलाई केही समयपछि संघीय सरकारको मातहतमा राखिएको छ । धार्मिक रुपमा मात्र नभइ प्राकृतिक रुपमा समेत प्रसिद्ध हलेसीमा अहिले गुरुयोजना निर्माणको काम भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माणको कामलाई तीव्रता दिएको छ । मन्दिरको जग्गा अतिक्रमणगरी घरटहरा निर्माण गर्नेक्रम बढेपछि संरक्षण र विकास गर्न गुरुयोजना निर्माणको काम सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया