मैनबत्ति बालेर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइयो

Halesi Khabar

खोटाङ । सामी परियोजनाले मैनबत्ति बालेर अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाएको छ । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो ।

बालसेवा समाज नेपालद्धारा सञ्चालित सामी परियोजनाको आयोजनामा बुधबार आप्रवासी कामदारहरुको सम्झना गरिएको हो । दिक्तेल बजारको होटल शुभदिनमा मनाएको दिवसमा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई लगायतको उपस्थितीमा कार्यक्रम गरिएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन परिवार र रोजगारीमा गएका व्यक्तिको महत्वपुर्ण भूमिका रहने कार्यक्रममा बताइएको छ । बैदेशिक रोजगारीमा सकेसम्म नजाने, जाने नै भए सीप सिकेर मात्रै विदेश जानुपर्ने शिक्षा सवैमा हुन जरुरी रहेको कार्यक्रमका वक्ताहरुले बताए । विदेशमा रहेका नेपालीहरुको भविष्य बालिएको मैनबत्ती झै चम्किरहोस नगरप्रमुख रिजालको भनाई रहेको छ । उनले भने, ‘विदेशबाट पठाएको एकवर्षको रेमिट्यान्स नगरको वार्षिक बजेटभन्दा बढी हुनेरहेछ । व्यवस्थित तरिकाले खर्च गरेर जीविकोपार्जन गरेमा यसैबाट हामीले राम्रो आयार्जन गर्न सक्छौ ।’

विदेशमा रहेकाहरुले कमाएर पठाएको पैसालाई सबैले उचित तवरले प्रयोग गर्न सिक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । परियोजनाले बैदेशिक रोजगारीमा गएकाहरु परिवारको सम्पर्कभन्दा बाहिर भए सूचना केन्द्रमा आएर परामर्श लिन समेत आग्रह गरेको छ ।

परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सीपयुक्त जनशक्तिको विकास, मनो सामाजिक परामर्श, वित्तीय साक्षरता, न्यायमा पहुँच र सुचनामा पहुँजजस्ता कार्यक्रमहरु संचालन गर्दै आएको सामी परियोजनाका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जनाए ।

तपाईको प्रतिक्रिया