बाल विवाह तथा आङ खस्ने समस्याले बिकराल रुप लिँदै

Halesi Khabar

मङ्सिर ः वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले खोटाङमा बाल विवाह तथा आङ खस्ने समस्या बिकराल रहेको जनाएको छ । बाल विवाह तथा आङ खस्ने सवालका सम्बन्धमा बिहिबार दिक्तेलमा पत्रकारसँग अन्तरक्रीया कार्यक्रम गर्दै केडले सचेतनामूलक कार्यक्रम भइरहे पनि गाउँ–गाउँमा बाल विवाह तथा पाठेघर खस्ने समस्या यथावत रहेको जानकारी दिएको हो ।

आङ खस्ने समस्याका विषयमा जिल्लामा सन् २०१५ मार्चबाट समुदायमा आधारित रोकथाम, किशोरी सशक्तिकरण र वकालतका काम गरिरहेको केडले जिल्लामा वालविवाह तथा आङ खस्ने समस्या उच्च रहेको पाइएको जनाएको छ । पाठे घर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको केडका कार्यक्रम संयोजक लोचन श्रेष्ठले हाल सामाजिक सञ्जालका कारण हरेक विषयवस्तु सार्वजनिक हुने गरेकाले बाल विवाह तथा आङ खस्ने समस्या विकराल देखिएको बताउनुभयो ।

कार्यक्रममा महिलाको प्रजनन् अधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएकी ईश्वरी नेपालले खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र वडा नम्बर–५ दुवेकोलका २१ प्रतिशत महिलाको आङ खसेको पाइएको जानकारी दिनुभयो । यस्तै, ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल, वडा नम्बर–३ ऐसेलुखर्क र वडा नम्बर–७ माक्पामा गरिएको सर्भेक्षणमा १५ प्रतिशत महिलाको आङ खसेको पाइएको जनाइएको छ ।

केडकी कार्यक्रम अधिकृत कल्पना राईले जिल्लामा कलिलै उमेरमा विवाह गर्ने दर उच्च रहेको पाइएकाले पाठेघर खस्ने समस्या देखिएको बताउनुभयो ।

चार वर्षदेखि खोटाङमा काम गर्दै आएको केडले यस वर्ष मात्रै १२ जना आङ खस्ने समस्या भएका महिलाको काठमाडौँ लगेर निःशुल्क शल्यक्रिया गराएको छ । उक्त संस्थाले कम्युनिटी सपोर्ट एसोसिएसन नेपाल (कोसन)सँगको सहकार्यमा लामो समयदेखि आङ खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका १२ जना महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराएको हो ।

जिल्लामा सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा आङ खस्ने समस्या देखिको साझेदारी संस्था हलेसी विकास मञ्च खोटाङका कार्यक्रम संयोजक विरेन्द्र मगरले जानकारी दिनुभयो । केडको कार्यक्रम पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्र रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया