बालविवाह मुद्दाका फरार अभियुक्त जेल चलान

Halesi Khabar

खोटाङ, १७ कातिक । बालविवाह मुद्दामा दोषी ठहरिएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई जेल चलान भएका छन् । बालविवाह मुद्दामा अदालतबाट एक महीना कैँद र रु पाँच हजार जरिवाना हुने फैसला सुनाइएका राई आइतबार जेल चलान भएका हुन् ।

बालविवाह मुद्दामा राईलाई जिल्ला अदालत खोटाङले वि.सं. २०७१ साल पुस २७ गते कैँद तथा जरिवानाको फैसला सुनाएको थियो । अदालतबाट सजायको फैसला सुनाइए पनि हालसम्म फरार रहेका राई शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।

जेल चलान भएका राईले अदुवाको बिउ खरिद गर्न जालपा गएकी ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी १४ वर्षीया बालिकालाई विभिन्न नाटक रचेर वि.सं. २०७० साल जेठ–११ गते राति स्थानीय २१ वर्षीय भलकाजी राईलाई जबरजस्ती सिन्दुर लगाई घर भित्र्याउन लगाएका थिए । बालिकाले अस्वीकार गर्दागर्दै घर भित्र्याउन लगाएको भन्दै पीडित पक्षले सोही महीनाको जेठ–१७ गते प्रहरीमा उजुरी दिएका थिए ।

बालविवाह गर्ने भलकाजी सोही समय पक्राउपरि रु दश हजार धरौटी तिरेर अदालतको आदेशमा तारिखमा छुटेका थिए । सो घटनामा संलग्न स्थानीय जापान राई र मदन राई अझै फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया