खोटाङ, १५ कातिक । कोदालोको बिँडले हानेर छिमेकीको हत्या गर्ने खोटाङका एक युवक लुकीरहेको अवस्थामा पक्राउ परेका छन् । कोदालोको बिँडले टाउकोमा हानेर छिमेकी १९ वर्षीय मीलन राईको हत्या गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २४ वर्षीय पवन राई दाजुपर्ने छिमेकीको घरको बुइँकलमा लुकी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
केहिदिन अगाडि गाउँमा भएको घटना मिलाएर घर फर्कने क्रममा गएराति पवनले मीलनको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो । “देउसी खेल्नेक्रममा पवनको भाइ र मीलनबीच बिबाद भएको रहेछ”, उहाँले भन्नुभयो, “सो घटना मिलाएर घर फर्कनेक्रममा पवनले मीलनमाथि आक्रमण गरेर हत्या गरेको पुष्टी भएको छ ।”
घटना गएराति करीब साँढे ८ बजे भएपनि त्रासका कारण स्थानीयवासीले राति १० बजे मात्रै प्रहरीलाई खबर गरेको जनाइएको छ । घटना लगत्तै फरार रहेका पवनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउगरि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता समेत रहनुभएका प्रहरी निरीक्षक खेरवारले जानकारी दिनुभयो ।
पवन पक्राउ परेलगत्तै आज (शुक्रबार) दिउसो मृतकका आफन्तले पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । मुख्य आरोपित मानिएका पवनसँगै पाँच जना विरुद्ध आफन्तको किटानी जाहेरी परेपछि घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
छिमेकीको कुटाइबाट ज्यान गुमाएका मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पातल दिक्तेलमा ल्याइएको छ । छिमेकी युवाबीच आपसी झगडामा एक जनाको मृत्यु भएपछि खाल्लेमा अहिले तनाव सिर्जना भएको छ ।


