काठमाडौं । सोह्रश्राद्धमा भागवत कथा वाचन गरेर पितृमुक्ति हुने विषय शास्त्रसम्मत नभएको धर्मशास्त्रका विद्वान्ले बताउनुभएको छ ।
सोह्रश्राद्धको अवसर पारेर भदौ २८ गतेदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भागवत महायज्ञसहित पितृमुक्ति महायज्ञ गर्ने भनी व्यापक प्रचारप्रसार भएपछि नेपाल विद्वत् परिषद्ले विद्वत् सम्मेलन गरी सचेत रहन आम नागरिकलाई आह्वान गरेको हो ।
परिषद्ले आयोजना गरेको सम्मेलनमा धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पितृपक्षमा भागवत लगाउन हुँदैन भन्ने वाक्य शास्त्रमा रहेको जानकारी दिनुभयो ।
“श्राद्धकर्ताले पाञ्चायन पूजा पनि गर्नुहुँदैन, पितृपक्षमा पूर्वाङ्ग गर्नुहुँदैन, पूर्वाङ्ग नगरी गरेको भागवत कथावाचनको कुनै फल हुँदैन, यस्तो प्रचार गरेर धर्म संस्कृतिको क्षेत्रमा विकृति ल्याइएको छ, धर्मका नाममा कमाइ खाने पेशा चलाउन खोजिँदैछ”, उहाँले भन्नुभयो ।
श्राद्धमा पितृसूक्तबाहेक अरु पाठ गर्नु नहुने शास्त्रीय वचन रहेकाले भागवत पनि पितृ मुक्तिका नाममा वाचन गर्न नहुने गौतमको भनाइ थियो । प्रा डा दीर्घराज घिमिरेले शास्त्र भनेको वेद नै भएकाले वैदिक ग्रन्थमा विधिपूर्वक ११ दिनसम्मको काजक्रिया गरेपछि प्रेतलाई मुक्त गरेर पितृ बनाइने चर्चा गरिएकाले पितृ मुक्तिका नाममा जनतालाई भ्रम पार्न खोजिएको बताउनुभयो ।
“पितृलाई मुक्त गर्ने त्यही कूलको मानिसले हो अरुले होइन, ब्राह्मणले सबैका पितृलाई मुक्त गर्ने जसरी विभिन्न माध्यमबाट प्रचार गरिएको छ, यो शास्त्रीय मान्यताविपरीत छ”, उहाँले भन्नुभयो ।
गोकर्णमा भागवत लगाउने कुरा शास्त्रसम्मत नभएको उल्लेख गर्नुहुँदै प्रा डा घिमिरेले यस्तो कर्मले कर्तालाई शास्त्रमा बताएअनुसारको फल नदिने भएकाले सचेत हुन अनुरोध गर्नुभयो । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक रुद्रप्रसाद मिश्रले जसलाई पितृमुक्तिको विषय नै थाहा छैन तिनले पितृमुक्ति यज्ञका नाममा जनता ठग्न लागेको बताउनुभयो ।
सन्ध्याको सामान्य ज्ञानसमेत नहुने मानिस सनातन धर्मका ठूला ठूला कुरा राखेर हिँड्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले पितृ कार्य गर्दा वाक्य अशुद्ध भए पितृले मोक्ष प्राप्त गर्दैनन् भन्ने शास्त्रीय वचन भएकाले महायज्ञमा सहभागी हुन चाहनेले बुझेर मात्र सहभागिता जनाउनुपर्ने विचार राख्नुभयो ।
सो अवसरमा परिषद्का अध्यक्ष एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल, प्रा डा आनन्दप्रसाद घिमिरे लगायतले पैसाको लोभमा जे पनि गर्ने प्रचलन अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । गोकर्णेश्वरको निम्ता भनेर पितृपक्षमा गरिने महायज्ञको प्रचारप्रसार गरेर अबुझ जनतालाई ठग्न खोजेको उहाँहरुको भनाइ थियो ।


