कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा उहाँले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताउनुभयो ।
विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटक प्रवद्र्धनसँगै उनीहरुको बसाई लम्ब्याउनेतर्पm प्रदेश र स्थानीय सरकारको ध्यान जानु पर्ने आवश्यकता औँल्याउनुभयो ।
विकास निर्माणमा अन्तर सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कुनै पनि आयोजना स्थानीय जनताको जीविकोपार्जनसँग जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकमा सङ्घीयता कार्यान्वयन भए पनि विकास निर्माणका काममा समन्वयको पाटो अहिले पनि सशक्त बन्न नसकेको जानकारी गराउनुभयो ।
पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले विकासस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण निर्माणकार्य तदारूकताका साथ भइरहेको कारण तोकिएको समयभन्दा छ महीना अगाडि नै सम्पन्न हुने जानकारी दिनुभयो ।


