चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले धरौटीमा छाडेका टेलिभिजनकर्मी रवि लामिछानेले वास्तविकता सार्वजनिक गर्न लाग्दा आफूलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । चितवन जिल्ला अदालतबाट हिजो साँझ रिहा भएका लामिछानेले आज नारायणगढको नदी किनारमा आयोजित धन्यवाद सभामा बोल्दै यस्तो बताएका हुन् । शालिकराम पुडासैनी आत्महत्याको वास्तविकता सार्वजनिक गर्न लागेको वेला प्रहरीले आफूलाई नियन्त्रणमा लिएको उनको भनाई थियो ।
उनले भने, ‘पुडासैनी आत्महत्याको विषयमा ३ मिनेटमा आफूले टेलिभिजनको कार्यक्रमबाट सार्वजनिक गरेर प्रष्ट पार्न लागेको कार्य पूरा हुन सकेन त्यही बेला प्रहरीले नियन्त्रणमा लियो ।’
घटनाको वास्तविक अवस्थाको बारेमा अदालतले टुंगो लगाउने भएकाले आफूले धेरै कुरा नबोल्ने उनले बताए । प्रहरी हिरासतमा रहेका बेला बाहिरबाट सहयोग गर्नेलाई धन्यवाद दिनको लागि नारायणगढमा धन्यवाद सभा गरिएको थियो । नारायणी किनारमा धेरै दर्शक थिए ।


