काठमाडौं । मेलम्ची नगरपालिकाको गैराबगरस्थित शहिद गोविन्द घले स्मृति बहुउद्देश्यीय कभर्ड हलको शिलान्यास गरिएको छ्र । प्रदेश नं ३ सरकारको गौरवको योजनाअन्तर्गत बहुउद्देश्यीय कभर्ड हलको आज सामाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गर्नुभएको हो ।
प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ धुलिखेलमार्फत रु १३ करोड लागतमा कभर्ड हल निर्माण गर्न लागिएको हो । जिल्लामा रङ्गशाला, स्थानीय तहमा कभर्ड हलजस्ता गौरवका आयोजना बनाएको प्रदेश सरकारले मेलम्चीमा बन्न लागेको कभर्ड हलमा सांस्कृतिक तथा राजनैतिक कार्यक्रम गर्न सकिने र विशेषगरी विभिन्न खेल खेल्न मिल्ने खालको बनाउन लागिएको मन्त्री दुलालले जानकारी दिनुभयो ।
कभर्ड हलभित्र विद्युतीय तथा इलेक्ट्रोनिक प्रविधिबाट एक हजार १५० जना अट्ने सिट रिमोटका आधारमा सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । यो कभर्ड हल नेपालकै पहिलो र उत्कृष्ट हुने उहाँको दाबी छ । प्रदेश नं ३ भित्र यस वर्ष छ वटा जिल्लामा रङ्गशाला तथा कभर्ड हल, ५० खेलमैदानलगायत शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि काम गरिने मन्त्री दुलालले बताउनुभयो ।
नगरप्रमुख डम्बर अर्यालाले मेलम्चीलाई प्रशासनिक बजार र बाहुनेपाटीलाई व्यावसायिक बजार इन्द्रावती करिडोर बनाउने लक्ष्यसहित अब नयाँ बसपार्क पनि बनाउने तयारी भइरहेको बताउनुभयो ।


