बाँझो तोड्न सफल भयौँ, बाली भित्र्याउन समय लाग्छ – मुख्यमन्त्री पौडेल

Halesi

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँस्थित विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग यहाँ प्रदेशले गरेका कार्यबारे जानकारी दिँदै अब गर्नुपर्ने कामबारे सुझाव दिन आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विगत १८ महीनाको छोटो अवधिमा पनि प्रशस्त काम गरेको तर प्रदेश राजधानी काठमाडौँबाट टाढा भएका कारण त्यति प्रचारप्रसारमा आउन नसकी ओझेलमा परेकाले ती कार्यबारे जानकारी दिन तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सञ्चारकर्मीहरुको सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो ।

प्रदेश सरकार गठनको १८ महीना भएता पनि कार्यालय राख्ने पूर्वाधार र कर्मचारी नभएको समयमा पनि विभिन्न समस्या झेल्दै ४० कानून तथा नियमावली निर्माण गर्न सफल भएको तर वास्तविक विकास निर्माणका काम गर्न केबल पाँच महीना मात्र उपलब्ध भएको उहाँले बताउनुभयो । पाँच महीनाको अवधिमा पनि ६० प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको बताउनुहँुदै उहाँले भन्नुभयो, “हामीले बाँझो तोडिसकेका छौँ तर बाली भित्र्याउन भने समय लाग्छ ।”

स्रोतसाधनले पनि हामी धनी छौँ, यही प्रदेशमा विभिन्न विषयका विज्ञहरु पनि छन् भने अब अप्ठ्यारो छैन, समृद्घ नेपाल निर्माणको सपना पूरा गर्न सक्छौँ, उहाँले भन्नुभयो । “जनताले अनुभूत गर्नेगरी नभएपनि केही त भएको छ । काम गर्ने प्रवृति र शैलीमा परिवर्तन आएको छ अब हामी समृद्घिका लागि ठोस कार्यक्रम ल्याउछाँै र उत्पादनलाई जोड दिन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सम्पादक तथा सञ्चारकर्मीले काठमाडौँका सडकमा धुलोधुवाँ नहटेको, साँखु तथा नागढुङ्गा सडकको दुर्दशा उस्तै भएको, पुराना गाडी विस्थापन हुन नसकेका, हेटाँैडा जाने भरपर्दो बाटो नभएको, करमा मात्र जोड दिइएको, अझै पनि विकास खर्च बढ्न नसकेको, हेटौँडामा अझै पनि स्वास्थ्य सेवाको अवस्था राम्रो नभएको, पहँुच र शक्तिकेन्द्रको आधारमा होटेलमा योजना बन्ने गरेको, करका दायरा मात्र बढाउनुपर्ने र राजधानी तोक्न नसकेको आदि गुनासो गरेका थिए ।

त्यसपछि पत्रकारका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले काठमाडौँको धुलोधुँवा हटाउन पूरै उपत्यकाकै योजना बनाउनुपर्ने, काठमाडौँ महानगरपालिकाको मात्र दोष नभएको, काठमाडौँ उपत्यकालाई एक दर्जन ब्रुमर दिइने र राम्रो र स्वच्छ उपत्यका बनाउने विचार रहेको बताउनुभयो । प्रदेशले कर मात्र होइन सेवा पनि दिएको छ तर मिडियामा फरक ढङ्गले व्याख्या आएको गुनासो उहाँले गर्नुभयो ।

राजधानी कसैलाई पायक पर्ने हिसाबले मात्र तोकिने होइन, राजधानी काठमाडौँको छायाँमा भने हुँदैन, काठमाडौँको जनसङ्ख्या डाइभर्ट गर्नेगरी हुन्छ, जहाँ भए पनि फरक पर्दैन, विकास नभएको ठाउँमा हुनुपर्छ । केही दिनमै राजधानी र नाम एकैचोटी तोकिन्छ”, मुख्यमन्त्रीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया