मनोरञ्जन क्षेत्रलाई कसरी दुव्र्यवहाररहित बनाउने ? यसो भन्छन् प्रहरी

Halesi

काठमाडौं । बेलाबेलामा प्रहरीले होटल रेस्टुराँबाट यौनकर्मी पक्राउ गर्ने गरेको छ । कतिपय अवस्थामा १८ वर्ष मुनिका बालिकासमेत फेला परेका छन् । डान्सबारमा अहिले पनि बालिका र किशोरीको प्रयोग भइरहेका छन् । उनीहरु यौन दुव्र्यवहारमा पर्ने गरेको घटनासमेत बेलाबेलामा देखिँदै आएको छ ।

पछिल्लो अध्ययनलेसमेत मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको देखाएको छ । अन्य क्षेत्रभन्दा होटल रेस्टुरामा बालिका तथा किशोरी र यातायत क्षेत्रमा बालक श्रममा प्रयोग हुने गरेको यथार्थ हो ।

यसरी प्रयोग भइरहेका बालबालिकालाई कसरी श्रम शोषण र यौन दुव्र्यवहारबाट मुक्त गराउने भन्ने विषय बेलाबेलामा चर्चा चल्ने गरे पनि ठोस कदम भने कतैबाट गरिएको पाइँदैन । बोलीमा हुने गरे पनि व्यवहारमा भने कार्यान्वयन नहुँदा बालबालिकाको शोषण कायमै छ ।

काठमाडौँ प्रहरीले भने बालबालिकाको प्रयोग रोकेर मनोरञ्जन क्षेत्रलाई कसरी मर्यादित बनाउने भनेर बहस शुरु गरेको छ । समुदायसँग नमिली कार्यक्रम सफल हुने नदेखेपछि प्रहरीले सो विषयमा होटल व्यवसायीसँगै समुदाय तथा जनप्रतिनिधिसँग छलफल चलाउन थालेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वयं समुदायलाई सक्रिय सहभागिता गराउने गरी अभियान चलाउनु जरुरी रहेकाले यो प्रयास थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

सुवेदीले भन्नुभयो, “बालबालिकाको प्रयोग तथा यौन दुव्र्यवहारका घटनाका विषयमा प्रहरीमा सूचना नै आउँदैन, हामी खोजीखोजी जानकारी लिनुपर्छ, त्यसैले होटल रेस्टुराँको अवस्था बुझेर सञ्चालकलाई बालयौन दुव्र्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउन प्रशिक्षणसमेत दिन थालेका छौँ ।”

नेपालको कानूनले १८ वर्षमुनिकालाई बालबालिका मानेको छ । कार्यस्थलमा हुने यौन दुव्र्यवहार ९निवारण० ऐन २०७१, श्रम ऐन, बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाको कुनै पनि काममा बालश्रमलाई प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया