पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा ओखलढुङ्गाका बाढीपहिरो पिडितलाई राहत वितरण

Halesi

ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसका अवसरमा जिल्लाका प्रकोप पीडितलाई राहत वितरण गरिएको छ ।

नेकपा ओखलढुङ्गाले बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले सहयोग गरेको हो । केही दिनअघि बाढीपहिरोमा परी मोलुङ गाउँपालिका–७ पात्लेमा पाँच जनाको ज्यान गएको थियो । मृतकका परिवारलाई सांसद यज्ञराज सुनुवारले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले विपद्मा परेकालाई सहयोग गर्न ‘पुष्पलाल विपद् कोष’ स्थापना गरिएको बताउनुभयो ।

यस्तै पहिराको जोखिममा रहेका मोलुङ गाउँपालिका–१ कुन्तादेवीका रत्नप्रसाद धमलालाई रु पाँच हजार राहत प्रदान गरिएको छ । बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले रु एक लाख, पूर्वसांसद रामहरि खतिवडाले रु १० हजार र उद्योग वाणिज्य सङ्घले रु तीन हजार सहयोग प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया