गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेका संख्या ९ पुगेको छ । पहिरोमा परेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ४ का स्थानीय चन्द्रबहादुर विकको परिवारकी श्रीमतीसहित ४ जनाको मृत्यु भएको छ भने उनका एक छोरी र एक छोरा वेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रबहादुरकी ७ वर्षीया छोरी तारा बिक र डेढ वर्षीय छोरा सुमन विक रहेका छन् । चन्द्रबहादुर भने मजदुरी गर्न भारत गएका कारण जोगिएका छन् । दुर्घटनाको खबर पाएलगत्तै उनी भारतबाट हिडेको स्थानीयवासीले बताएका छन् ।
त्यस्तै, स्थानीय ७० वर्षीय छलि विक र उनकी नातिनी ९ वर्षीय तारा विकको पनि पहिरोमा परेर मृत्यु भएको छ । पहिरोमा परेर २४ घर विस्थापित भएका छन् । त्यस्तै सोही गाउँपालिकाको वडा ३ मा पनि पहिरो परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीया तिलकुमारी तरामुमगर, उनका छोरा १० वर्षीय दर्शन तरामु र दुर्गा सिञ्जाली रहेका छन् । पहिरोमा परेर माया विक उनका छोरा बबि विक बेपत्ता भएका छन् ।
त्यस्तै गुल्मीको सोही गाउँपालिकासँग सिमाना जोडिएको बाग्लुङको गलकोट–८ काँडेबास ज्यामिरे निवासी पितम्बार गौतमकी छोरी– १७ वर्षीया सिता गौतमको गोठमा काम गर्न लागेको बेला गोठसहित बगाएर मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पहिरो पीडितहरुका लागि राहत वितरणमा कुनै कमी हुन नदिइने बताएका छन् । घटनास्थलमा पुगेका मन्त्री ज्ञवालीले उद्धार र व्यवस्थापनका लागि सबै संयन्त्र परिचालन गरिएको बताए ।


