काठमाडौं । शुक्रबारको संसद वैठक सूचना टाँस गरि स्थगित गरिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले एक प्रेस विज्ञप्ती जारी गर्दै सत्तापक्षको व्यवहार अत्यन्तै असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुण खालको भएको भन्दै खेद व्यक्त गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ ।’
शुक्रबार विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा०ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका थिए । कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका थिए ।
विपक्षीको प्रस्तावमाथि छलफल नै नगरी सभामुखले सूचना टाँस गरि संसद वैठक स्थगित गराएका थिए । संसद वैठक आगामी साउन ८ सम्मको लागि स्थगित भएको छ ।
स्मरण रहोस्, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाबारे संसदीय समिति बनाउन माग गर्दै केहि समयदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले विधिको शासन पद्धति र मानवअधिकारको उल्लंघन गरेको भन्दै विपक्षीले सदनमा विरोध गर्दै आएका छन् ।
बाढी प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब
नेपाली कांग्रेसका संघीय सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले पाँच दिनको तलब बाढि, पहिरो र डुबान प्रभावितहरुलाई दिने भएका छन् । शुक्रबार कांग्रेस संसदीय दलले पीडितहरुलाई राहत स्वरुप ५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।


