वीपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Halesi

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ। खरिद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ।

आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध४ करोड आठ लाख ९८ हजार रुपैयाँ, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३करोड ७५ लाख ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले दुई करोड ३४ लाख ८१ हजार रुपैयाँ, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध एक करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ। आयोगले चेतनविरुद्ध एक करोड चार लाख १६ हजार, उमेशविरुद्ध ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दैसोमबारविशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। खरिदार शर्माले कार्यालयबाट खरिद भएको सामानको भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस मागेको अभियोग लागेको छ।

तपाईको प्रतिक्रिया