काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । उनले सो समूहको हिंसात्मक गतिविधिको सहारामा कांग्रेसले सरकारमाथि प्रश्न उठाउँदै आएको भन्दै दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन् ।
हिंसाबारे कांग्रेसको धारणा के हो रु बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’ बास्कोटाले प्रश्न गरे । बास्कोटाले विप्लवलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भनि विगतलाई स्मरण गर्न कांग्रेसलाई सुझाए ।
पछिल्लो समय कुमार पौडेलको हत्याको विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसप्रति प्रश्न गर्दै उनले प्रश्न गरे, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’ बास्कोटाले कांग्रेसलाई मृत्युको व्यापारसमेत गरेको आरोप लगाएका छन् । हिंसाको साहार लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने कांग्रेस आफैं संकटमा पर्ने उनले दाबी गरे ।
कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उलने कटाक्ष समेत गरे। संसद अवरुद्ध पहिलो र अन्तिम नभएको भन्दै कुमार पौडेल हत्याका विषयमा संसदीय समिति बनाउन नसकिने उनले बताए ।


