काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङ्गेलाई पार्टी प्रवेश गराएको प्रति आपत्ति जनाएका छन् । मनाङ्गेलाई पार्टी प्रवेश गराएकोमा नेतृत्व प्रति तिव्र असन्तुष्टी पोख्दै विद्यार्थी नेता बस्नेतले पार्टी प्रवेश अस्वीकार्य भएको बताएका हुन् ।
बिहिबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेता बस्नेतले मनाङ्गेलाई पार्टीमा होइन् जेलमा राख्नुपर्ने बताएका छन् । ‘काठमाडौंका गल्ली गल्लीमा अझैपनि दिपक मनाङ्गेका ब्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन् । अदालत, प्रहरी र जनजनमा मनाङ्गेका मुद्दाका फेहरिस्त छन् ।’ बस्नेतले भनेका छन्, ‘वांचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो, कम्युनिष्ट पार्टी किमार्थ हैन ।’
बस्नेतले मनाङ्गेलाई पार्टी प्रवेश गराएको प्रति असन्तष्टि पोख्दै चुनावले नजिता दिने भन्दै नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा हेक्का राख्न सचेत गराएका छन् । बिहीबार पोखरामा मनाङेलाई पार्टी प्रवेश गराएको केही समयमै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत जेलमा राख्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
स्मरण रहोस् बिहिबार मात्रै सत्तारुढ नेकपाका गण्डकी प्रदेश ईन्चार्ज एंव मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिपक मनाङ्गेलाई नेकपा प्रवेश गराएका छन् । आपराधिक पृष्ठभूमिका मनाङ्गे प्रहरीको वान्डेण्ड सूचीमा समेत थिए । मनाङ्गबाट स्वतन्त्र सांसदका रुपमा प्रदेशसभामा निर्वाचित मनाङ्गेलाई निर्वाचनको बेला तत्कालिन नेकपा एमालेको सहयोग थियो ।


