अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तलीलाई सरोकारवालाको आग्रह

Halesi

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन सरोकारवालाहरुले धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको सभाकक्षमा बुधबार सम्पन्न रंगशाला निर्माण सहयोग समितिको बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको मात्र नभई राष्ट्रकै गौरवको आयोजना भएको भन्दै यसलाई सहयोग रहने बताए । सबैले आआफ्नो स्थानबाट सक्रियताकासाथ लाग्न अनुरोध गर्दै धुर्मुस सुन्तली फाउन्डेसनलाई काम अगाडि बढाउन उनले आग्रह गए ।

प्रदेश सभा सदस्य विजय सुवेदीले रंगशाला सिङ्गो नेपाली जनताको साझा माग भएको भन्दै यो बनिछाड्ने बताए। उनले समस्याहरु हरेक ठाउँमा हुने भन्दै समस्याको समाधान गर्दै अगाडि बढ्न सहयोग समितिलाई आग्रह गरे। चितवन रंगशाला निर्माणको लागि जुरुक्कै उठेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला बन्छ कि बन्दैन भन्ने दोधारमा कोही रहन नहुने भन्दै रंगशाला बनाएरै छाड्ने बताइन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको मात्र नभई दैशकै गौरवको आयोजना रहेको भन्दै मेयर दाहालले यसलाई सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले रकम समेत छुट्ट्याइसकेको बताउँदै संघ, प्रदेश र अन्य स्थानीय निकायबाट आवश्यक सहयोग हुने बताइन् । जिजी क्षेत्रको सहभागितामा निर्माण हुने रंगशालामा सबैको सहयोग आवश्यक रहेको बताउँदै उनले धुर्मुस सुन्तली फाउन्डेसनलाई काम सुरु गर्न आग्रह गर्दै रकम अभावका कारण रंगशाला निर्माण नरोकिने समेत बताइन् ।

मूल सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, कृष्ण भुर्तेल, नेपाल उद्योग वाणिज्य महासंघका डा। तिलचन्द्र भट्टराई, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायत सहभागी थिए । बैठकले फाउन्डेसनलाई काममा फर्कन आह्वान गर्ने लगायतका निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया