आइफा अवार्डलाई खर्च दिने कुरा आपत्तिजनक भन्दै साझाले निकाल्यो यस्तो विज्ञप्ती

Halesi

काठमाडौं । आइफा अवार्डलाई आर्थिक सहयोग उपलब्ध गराउने बारे सरकारले गरेको निर्णयप्रति साझा पार्टीले आपत्ति जनाएको छ । आइतबार पार्टीका प्रवत्ता सुर्यराज आचार्यद्धारा हस्ताक्षरित एक विज्ञप्ती सार्वजनिक गर्दै साझाले सरकारको निर्णयप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

साझा पार्टीले सरकारले विदेशी निजी संस्थाको आयोजनामा हुन लागेको कार्यक्रमलाई करोडौं खर्चिने विषय अनुचित र असान्दर्भिक भएको ठहर गरेको छ । ‘एक विदेशी संस्थाको आयोजना हुने भनिएको फिल्म अवार्ड समारोह आइफाको सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘सरकारको निर्णय मार्फत ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्चसमेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ ।’

साझाले अन्य देशमा यस्ता प्रकृतिका कार्यक्रम गर्दा सरकारी तहबाट आर्थिक सहयोग नहुने कुरा पनि स्मरण गराएको छ । बिना औचित्य करोडौं खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएको भन्दै साझाले निर्णय फिर्ता लिएर नेपाली चलचित्र क्षेत्रको विकासमा सोंच्न सरकारसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया