काभ्रे । सूचना तथा प्रविधि मन्त्री प्रवक्ता गोकुल बास्कोटाले वर्तमान सरकार ढाल्ने तागत प्रतिपक्ष दलमा नभएको बताएका छन् ।
काभ्रेको पनौती नगरपालिकाको २ र ३ लाई बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै शनिबार मन्त्री बाँस्कोटाले प्रतिपक्षलाई प्रश्न गर्दै वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने तागत कस्को छ ? भनेर प्रश्न गरे । ‘दिउँसै सपना नदेख्नुहोला,’ प्रतिपक्षतर्फ संकेत गर्दै उनले प्रश्न गरे, ‘एउटै पार्टीको दुई तिहाईको सरकार ढाल्ने कस्को हिम्मत छ ?’ उनले सरकार ढाल्न सजिलो नभएको उल्लेख गर्दै सरकार ढल्न नेकपा पार्टी सिसा जस्तै धुजाधुजा हुनु पर्ने बताए ।
सरकार ढल्छ भन्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र भएको मन्त्री बास्कोटाको भनाइ थियो । उनले सरकार ढल्छ भन्ने हल्लामा सत्यता नरहेको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा सरकार ढाल्ने चेतावनी दिएका थिए ।


