काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् । शुक्रबार बसेको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएको भन्दै मेयरमाथि कारबाही गर्न माग राखेका हुन् ।
नेपाली कांग्रेसका कोषाध्यक्ष समेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिँदासमेत सरकारले मौन भएको भन्दै आपत्ति जनाइन् । त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।


