काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गरे ।
आजको जनआस्था साप्ताहिकमा खबर छ–२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०/४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै छन् । जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाए ।
चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८–१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालले पाएको मत हो (३१ लाख ७३ हजार) अर्थात ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाब सुनाएपछि केपीले भने, ‘अनि, तपाई प्रचण्डसँग मिल्ने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् । उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’ केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिए, ‘कुरा त्यस्तो पो हो ?’


