स्वेदशमा उपचार हुँदाहुँदै विदेश जाने नेतालाई सरकाले पैसा नदिने

Halesi

काठमाडौं । स्वेदशमा उपचार हुँदाहुँदै उपचारको नाममा विदेश जानेलाई सरकारले आर्थिक सहयोग उपलब्ध नगराउने भएको छ । मंगलबार संसदमा बोल्दै स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सो कुरा जानकारी गराएका हुन् । उनले कानूनी व्यवस्था नै लागु भईसकेको समेत बताएका छन् ।

उनले आफ्नो पैसाले विदेशमा उपचार गराउन खोज्नेलाई सरकारले रोक्न नमिल्नेसमेत बताएका छन् । सरकारी कोषबाट विदेशमा उपचार गराउने कार्य भने कानूनतः रोकिएको बताएका छन् ।

‘नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने क्रम छ । विदेशमा उपचार गराउन कोही आफ्नो खर्चले जान्छन् भने त्यसलाई रोक्ने वा यहिँ उपचार गर भन्ने वाध्यकारी व्यवस्था छैन् ।’ यादवले भने, ‘सरकारी कोषबाट विदेशमा उपचार गराउनेलाई खर्च सरकारले नदिने कानूनी व्यवस्था लागु भईसकेको कुरा पुनः यहाँहरु समक्ष म निवेदन गर्न चाहन्छु ।’

स्वास्थ्य मन्त्री यादवले सरकारले आयूर्वेद अस्पताललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको समेत बताएका छन् । प्रादेशिक संरचना अनुसार छिट्टै प्रदेश स्तरीय आर्युवेद अस्पतालहरु निर्माणको प्रस्ताव सरकारले अघि बढाएको यादवले जनाए ।

यादवले स्वदेशी औषधीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत कार्यक्रम अघि बढाइएको समेत बताएका छन् । स्वदेशमै उत्पादीत औषधीलाई प्रोत्साहन गर्न त्यहि प्रकृतिको औषधीको आयातमा रोक लगाउन लागिएको समेत यादवले जानकारी दिए । उनले स्वदेशी औषधीले ४० प्रतिशत हिस्सा ओगटेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया