बालबालिकालाई भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्छौ – शिक्षामन्त्री

Halesi

नारायणपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन्।दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।

जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उहाँले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताए । सबैले उच्चशिक्षा लिन्छन् भन्ने छैन, तर अव माध्यमिक तह उत्तीर्ण भएर बाहिर निस्किँदा सीप सिकेर श्रम बजारमा आउनसक्ने वातावरण मिलाउनुपर्छ ।

शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा मन्त्रीले भने, अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको छ । यो गलत छ ।

विद्यालय नसकिँदै युरोप जाने सपना पाल्ने जनशक्ति हैन, देशको माटोलाई माया गर्ने, स्वाधिन, स्वतन्त्रताको रक्षाका लागि काम गर्ने जनशक्ति उत्पादन आवश्यक छ, मन्त्री पोख्रेलले भने, प्रति वर्ष पाँच हजार जनशक्ति उत्पादन गर्ने गरी गत वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयलाई विस्तार गर्दै लैजाने हो ।

यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोख्रेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताए । सरकारले प्रत्येक प्रदेशमा एक एकवटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरु गरिसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया