हेटौंडा–१८ हर्नामाडीमा रहेको पर्यटकीय क्षेत्र गुम्बाडाडामा पार्क निर्माणका लागि जनशक्ति खटाएर प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात गरिएको छ । उप महानगरपालिका कार्यालयले बिहीबार पार्कमा बगैंचा बनाउने काम सुरु गरेको हो । पार्क निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका ५० जनालाई खटाएको मेयर हरिबहादुर महतले जानकारी दिए ।
बेरोजगार जनशक्तिलाई रोजगारी दिने उद्देश्यले सुरु भएको यस कार्यक्रमलाई हेटौंडा उपमहानगरले बगैंचा बनाउन उपयोग गरेका हो । हर्नामाडीमा रहेका ५० जनालाई बगैंचा निमार्णका काममा खटाएको हो ।
हर्नामाडीमा फूलको बगैंचा बनाएर पर्यटकीय क्षेत्र बनाउन सहयोग गर्ने उद्देश्यका साथ छनोट भएका आवेदकलाई रोजगारी दिइएको मेयर महतले बताए । उनले भने, ‘हेटौंडाको सहीद स्मारकलाई पर्यटकीय क्षेत्र बनाउन यसैगरी कामको सुरुवात भएको थियो ।’
चालू आर्थिक वर्षको अन्त्यतिर मात्र काम सुरु भएकाले योजनाअनुसार सय दिन पु¥याउन नसकिएको उपमहानगरकी उपप्रमुख मिना कुमारी लामाले बताइन् । चालू आवका लागि उपमहानगरले एक करोड विनियोजन गरी दुई सय जनालाई १५ दिन रोजगारी दिने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।


