अर्को वर्ष मेलम्चीको पानी काठमाडौँ ल्याउँछौं – मन्त्री मगर

Halesi

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा खानेपानीमन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानीको आयोजनाको प्रथम चरण निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा वितरण गरिने बताएकि छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलम्ची खानेपानीको प्रथम चरणको काम भइसेकको हुँदा काठमाडौँ उपत्यकामा वितरण गर्ने बताएको हो ।

मन्त्री मगरले खानेपानी सेवाको गुणस्तर सुधारका आयोजनाहरु रहेका र त्यसमा खानेपानी सुरक्षा कार्यक्रम गरी छिटो, सुरक्षित र दिगो खानेपानी दिने उद्देश्य रहेको तथा काठमाडौँ उपत्यकाको खानेपानी संस्थानको सेवालाई निरन्तरता दिइने उल्लेख गरिन् ।

यस आवमा खानेपानी तथा सरसफाइका लागि रु ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । नेपालको ७७ वटै जिल्लामा खानेपानी सेवा परिचालन गर्न, तराईमा खानेपानीलगायतका आयोजनाका लागि बजेट छुट्याएको छ ।

मन्त्री मगरले खानेपानी तथा सरसफाइ विधेयकलाई ऐनका रुपमा ल्याएर कार्यान्वयन गर्ने गरी जलवायु परिर्वतनलगायतका कारणबाट खानेपानीका स्रोतहरु सुक्दै गएकाले स्रोतलाई संरक्षण गर्न अभियान सञ्चालन गर्ने जानकारी दिइन्।

जलाधार क्षेत्र संरक्षण गरी खानेपानीका स्रोत संरक्षण गरी खानेपानी तथा सरसफाइ आयोजनाहरु प्रविधिमैत्री बनाइने उल्लेख गर्दै मन्त्री मगरले भनिन्, एक घर, एक धारा’, ‘एक घर एक शौचालय’ को अवधारणा अगाडि ल्याउनेछ, त्यसका लागि सहकार्य, समन्वय र सहअस्तित्वका लागि तीनै तहको सरकारसँग आवश्यक परामर्श गरी योजना अघि बढाउनेछ ।

मरन्त्रिपरिषद्को गत जेठ १० को निर्णयअनुसार तराई मेधशमा १५ हजार, पहाडमा पाँच हजार, हिमाल एक हजारभन्दा बढी जनसङ्ख्यालाई खानेपानी सेवा आयोजना अघि बढाउने योजना रहेको मन्त्री मगरले जानकारी दिइन्। सांसदहरु प्रेस सुवाल, मीना पाण्डेलगायतले काठमाडौँमा मेलम्ची खानेपानी आपूर्ति जतिसक्दो छिटो आपूर्ति हुनुपर्ने प्रश्न उठाएका थिए ।

तपाईको प्रतिक्रिया