पौडलको निधनले सिंगो पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षतीः अध्यक्ष प्रचण्ड

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम डिआर पौडेलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भएको बताएका छन् । पौडेल प्रति श्रद्धान्जली अर्पण गर्नु चितवन पुगेका अध्यक्ष प्रचण्डले साँझ एक शोक वक्तव्य जारी गर्दै पौडेल सादा र सरल जिवनशैली अपनाउने नेता भएको बताए ।

प्रचण्डद्वारा जारी शोक वक्तव्यः
शोक वक्तव्य
आज बिहान ६:४५ बजे हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री क.धनिराम डिआर पौडेलको ५३ वर्षको उमेरमा हृदयघातका कारण दुःखद् एवं असामयिक निधन भएको छ । हाम्रो पार्टी कमरेड धनिराम डिआर पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट विसं २०२३ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका क। धनीराम ९डिआर० पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो । नेकपा ९चौथो महाधिवेशन०को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गर्नुभएका उहाँ २०५१ मा तात्कालिन अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत बन्नुभएको थियो ।

२०३८ सालमा नेकपा चौमको सदस्यता लिनुभएका उहाँ २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य हुनुभएको थियो । उहाँ अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । बिगतमा लामो समय उहाँले पार्टीको वैचारिक मुखपत्र ‘जनएकता’ साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गर्नुभएको थियो ।

२०५१ साल कात्तिक २१ गते कमरेड गंगा बेल्बासेसँग उहाँको जनवादी विवाह भएको थियो । उहाँका दुई छोरी जागृति र आकृति सहित बुबा, आमा, एक भाइ र सात दिदी–बहिनी हुनुहुन्छ ।

तत्कालिन नेकपा एकताकेन्द्र मसाल र नेकपा माओवादीसँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा माओवादीको पोलिट्व्युरो सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै २०७० सालको संविधान सभामा सभासद् र शिक्षा मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुभएको थियो । उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्यका रुपमा शिक्षाको नीति–निर्माणसहित दिवाकर स्मृतिग्रन्थ पुस्तकको सम्पादन गरिरहुनुभएको थियो । हाल उहाँ नेकपा माओवादी केन्द्र र नेकपा एमालेका बीच एककीकरण पश्चात् बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सादा र सरल जिवनशैली अपनाउँदै आउनुभएका पौडलको असामयिक निधनले सिंगो पार्टी पंक्ति र नेपाली कम्युनष्टि आन्दोलनमा अपुरणीय क्षती भएको छ । यस शोकको घडीमा क। धनिराम डिआर पौडेल प्रती हाम्रो पार्टी पुनः भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।
३१ जेठ, २०७६
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

तपाईको प्रतिक्रिया