खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “हाम्रो नगरमा धेरैजना नागरिक स्वास्थ्य सेवा नपाएर बसेका थिए । उनीहरुलाई आफ्नै ठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको जिल्लाभरीका नागरिकले सेवा लिएका छन् । विभिन्न संस्थासँगको सहकार्यमा आयोजना गरिएको दुई दिने बृहत् स्वास्थ्य शिविर उपलब्धीमूलक बनेको छ ।”
निःशुल्क बृहत् स्वास्थ्य सेवा शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष टङ्कबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । शिविरका लागि ओम हस्टिल एण्ड रिसर्च सेन्टरका प्रा.लि काठमाडौँका प्रमुख चिकित्सक डा. आनन्दप्रसाद श्रेष्ठसहित ३३ जनाको विशेषज्ञ टोली दिक्तेल आएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा उपचारका लागि आएका नागरिकलाई नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको सहयोगमा स्वास्थ्य परीक्षण तथा उपचारको बन्दोबस्त मिलाइएको थियो । शिविरमा लक्ष्यभन्दा ११९ जना बढी नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा लिन चाहने जिल्लाका सेवाग्राहीलाई आफन्तहरुले गाडी रिजर्भ गरेर तथा स्ट्रेचरमा बोकाएर ल्याएका थिए । शहर बजारका सुविधासम्पन्न अस्पतालमा ठूलो धनराशी खर्च गरेर पाइने स्वास्थ्य सेवा आफ्नै गाउँठाउँमा निःशुल्क पाउँदा सेवाग्राहीले पनि खुशी व्यक्त गरेका छन् ।
निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले ब्यानर पढेर गर्नुभएको थियो । दुई दिने शिविरमा सहभागी चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई खादा ओढाएर सम्मानपत्रसहित बिदाई गरिएको छ ।


