खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुई–दुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो ।
शुद्धीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयहरुलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताउनुभएको छ । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिदगरी विद्यालयहरुलाई हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “अब विद्यालयहरूमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धिकरण गरी सुरक्षित रूपमा पिउन सकिने भएको छ । यसले विद्यार्थीहरूमा पानीजन्य रोगको समस्या कम हुन्छ ।”
रोटरी क्लब अफ यालाले रु दश लाखभन्दा बढी मूल्यको पानी शुद्धीकरणसम्बन्धी उपकरण खरिद गरेर विद्यालयहरुका लागि उपलब्ध गराएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि नै उपकरण ल्याइएको थियो । निर्वाचन आचारसंहितका कारण हस्तान्तरण गर्न पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “निर्वाचन सकिएपछि विद्यालयका प्रतिनिधिहरुलाई दिक्तेल बोलाएर हस्तान्तरण गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न रोटरी क्लब अफ यालाले गरेको यो सहयोग महत्वपूर्ण मानिएको छ । यसले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ठूलो योगदान पुग्ने हामीले विश्वास गरेका छौँ ।”
शुद्धीकरण उपकरणले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो वातावरणीय सुधार ल्याउने उद्देश्यसमेत राखिएको नगरपालिकाले जनाएको छ । शुद्ध खानेपानीको अभाव भोग्दै आएका विद्यार्थीहरु नगरपालिकाले उपलब्ध गराएको उपकरणमार्फत शुद्ध खानेपानी उपभोग गर्न पाउने भएपछि हर्षित भएका छन् ।


