विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।
वरिष्ठ नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवा आयोगले गर्न पाउनुपर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय सही नभएको टिप्पणी गरे।
एक प्रश्नको जवाफमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमा गर्न आफूले पहिलेदेखि नै आग्रह गरिरहेको उल्लेख गर्दै महाधिवेशनको मिति एक वर्ष सारिए निर्वाचनमा प्रभाव पर्ने र पार्टीलाई नोक्सानी हुने स्पष्ट पारे ।
भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले विदेश मन्त्री नियुक्तिले नेपाल र भारतको सम्बन्धमा कुनै असर नपर्ने धारणा व्यक्त गरे ।


