काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकाको एक विद्यालयको शौचालयमा पुरिएर ४ जना बालबालिकाको मृत्यु भएको छ । दार्चुलास्थित नौगाड गाउँपालिका वडा नं। ४ सिप्टीमा रहेको गणेश विनायक माविको शौचालयमा पुरिएर उनीहरुको मृत्यु भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीले नागरिक खबरलाई जानकारी दिए ।
४४र४५ सालतिर बनेको सौचालय रहेछ,’ अध्यक्ष धामीले नागरिक खबरसँग टेलिफोन सम्पर्कमा भने, ‘त्यही शौचालयमा पुरिएर ४ जना विद्यार्थीहरुको मृत्यु भयो ।’
मृत्यु हुनेमा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरु रहेको जनाइएको छ । मंगलबार साढे ४ बजेतिर भएको उक्त घटनामा परी मृत्यु भएका ४ जनाको शव निकालिएको प्रहरीले जानकरी दिएको छ ।
मृत्यु हुनेमा अन्दाजी ८ वर्षकी निरुता ठगुन्ना, ८ वर्षीया अनिसा धामी, ८र९ वर्षका सुदीश धामी तथा ५ वर्षकी युनिका ठगुन्ना रहेको गाउँपालिका अध्यक्ष धामीले नागरिक खबरलाई बताए ।
अध्यक्ष धामीका अनुसार अझै बालबालिका फसेको हुन सक्ने आशंकामा प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।


