नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू, १८० बेरोजगार नागरिकले रोजगार पाए

Halesi

खोटाङ, २८ जेठ ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मङ्गलबारदेखि लागू गरिएको छ । बेरोजगार एवम् अति विपन्न परिवारका नागरिकलाई गाउँमै रोजगारको अवसर दिएर १५ वडा रहेको नगरपालिकामा मङ्गलबारदेखि औपचारिक रुपमा कार्यक्रम लागू गरिएको हो ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाका १८० बेरोजगार नागरिकले रोजगार पाएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । दैनिक जनही रु ६१० पारिश्रमिक पाउनेगरी नगरपालिकामा कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लीङले उद्घाटन गर्नुभएको हो ।

गरिबीको रेखामुनि रहेका र बेरोजगार नगरबासीमध्येबाट छनौट गरेर वर्षमा कम्तीमा सय दिनको रोजगारीको अवशर दिइएको नगरपालिकाले जनाएको छ । मासिक जनही रु १८ हजार ३०० पाउने गरी रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफुलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार गाउँदा स्थानीय उत्साहित छन् । कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’, नेकपाका जिल्ला सचिव राम दंगाल, नेपाली काँग्रेसका जिल्ला सस्य सुमानबावु आचार्य, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यय लगायतले रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया