रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम अन्तिम चरणमा

Halesi

खोटाङ, २७ जेठ ः पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा वितरण गर्नेगरी शुरु गरिएको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी किनारमा मेसिन राख्ने पम्प हाउस र पानी सङ्कलन गर्ने ट्याङ्की, नदी र गाउँकोबीचमा दुई वटा आरभिटी ट्याङकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसी ट्याङ्की लगायत सबै भौतिक निर्माणका काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “आगामी असार दोस्रो साताभित्र घरघरमा खानेपानी वितरण गर्ने तयारीका अहिले विद्युत विस्तारको काम गरिरहेका छौँ ।”

जिल्लाको दक्षिणी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्र कालापानीमा सञ्चालित आयोजनाका लागि २५ केभीको तीन वटा विद्युत ट्रान्सफर्मर समेत जडान गरिसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनुभयो । अहिले विद्युतका लागि पोल गाड्ने तथा तार टाँग्ने काम सकेर मिटर जडानको काम भइरहेको जनाइएको छ ।

कालापानीका ११५ घरपरिवारलाई लक्षित गरेर सुनकोशीको पानी पम्पिङ गरेर वितरण गर्ने योजनाका साथ वि.सं. २०७२ साल चैतबाट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका कालापानीका स्थानीबासी ढिलै भएपनि आफ्नो गाउँमा सञ्चालित खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अहिले हर्षित भएका छन् ।

कालापानीमा यसअघि छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि त्यहाँका स्थानीबासी अहिले घण्टौँ टाढा रहेको कुवा तथा खोलाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् । क्षेत्री÷बाहुनको बस्ती रहेको कालापानीका स्थानीयबासी अहिले चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट घण्टौँ लगाएर गाग्री तथा ड्रममा बोकेर ल्याएको पानी उपभोग गरिरहेका हुन् ।

स्थानीय उपभोक्ताको रु ३६ लाख बराबरको श्रमदान रहेको उक्त खानेपानी आयोजना रु एक करोड ८० लाखको लागतमा पूरा हुने जनाइएको छ । वरपर भएका खानेपानीको मुहान सुकिसकेको र अन्य बैकल्पिक स्रोत नभएपछि कालापानीमा सुनकोशी नदीको पानी तान्ने बिकल्प अघि सारिएको हो ।

जिल्लामा नदीको पानी तानेर गाउँमा वितरण गर्ने उद्देश्यका साथ पम्पिङ प्रविधि अपनाइएको रसुवाघाट–कालापानी खानेपानी आयोजना पहिलो हो । उक्त आयोजनाको प्रभावकारिताका बारेमा अहिले सबैको ध्यान केन्द्रित भएको छ ।

तपाईको प्रतिक्रिया