काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छन् । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइन्छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन आइतबार राष्ट्रपति भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरुकाउ उपस्थिति रहेको थियो ।
भोटो जात्रा लिच्छविकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको घुइँचो लागेको थियो । त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरे ।
भोटो देखाएसँगै काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ । समापनसँगै मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकाली खटमा राखेर बाजागाजासहित बुङमति लगिएको छ ।
बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ ।वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ । यसै अवसरमा सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको थियो ।


