ओखलढुङ्गामा धारामा पानी थाप्दा लेदो आएपछि खानेपानी सङ्कट

Halesi

ओखलढुङ्गा । धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो ।

बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बसेकी रविना सुनुवारले बताइन् । ‘एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ धारामा खाना त बाहिर गएर खाइयो । पिउने पनि पानी छैन ।’ रविना जस्तै सदरमुकामका स्थानीय तथा कोठा भाडामा लिएर बसेका समस्यामा छन् ।

धारामा धमिलो पानी आएपछि होटल व्यवसायी त्यसको मारमा परेका छन् । पानी अभावका कारण व्यवसाय सञ्चालनमा समस्या भएको रोज रेस्टुरेन्टका सञ्चालक गोपाल बज्राचार्यले बताए । ग्राहकको मागअनुसार पानीसमेत उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । ‘मिनिरल वाटरले व्यवसाय धान्नुपर्ने अवस्था आयो’, बज्राचार्यले भने, ‘ग्राहक तातोपानी माग्छन् मिनिरल वाटर तताएर दिने कुरा भएन । पानी छैन हजुर भनेर टार्नुपरेको छ ।’ सर्वसाधारण पनि केही दिनअघि थापेको पानी र मिनिरल वाटरको भरमा छन् ।

पानीको मुहानमा भल पसेकाले समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव रुपेश शाक्य बताउछन् । मुहान र ट्याङ्की सरसफाइ गरेर सफा खानेपानी उपभोक्तालाई उपलब्ध गराउन आफूहरु लागि रहेको उनको भनाइ छ । अव्यवस्थित मुहान र वितरण प्रभावकारी नहुँदा ओखलढुङ्गा सदरमुकाममा खानेपानीको समस्या बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया