काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराएको छ।
यही जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन उनी त्यसतर्फ जाने मन्त्रालयले जनाएको छ। एक हप्ता लामो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायत, फ्रान्स र स्विटजरल्यान्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
भ्रमणका बेला उच्चस्तरीय राजनीतिक भेटघाटमा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् । जनाइए अनुसार प्रधानमन्त्री ओलीले जेठ २७ गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रका अनुसार प्रधानमन्त्री जेठ २९ गते फ्रान्स जानेछन् त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।
युरोप भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आउँदो असार १ गते नेपाल फर्किने कार्यक्रम छ।


